समाचार
संक्षिप्त परिचय
प्रदेश न. ३ काभ्रेपलाञ्चोक जिल्लामा अबस्थित पाँचखाल नगरपालिका जिल्लाको तत्कालिन पाँचवटा गाविसहरु समेटी नेपाल सरकार, संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको मिति २०७१ बैशाख २५ गतेको मन्त्रीस्तरीय निर्णयबाट पारित भै स्थापना भएको हो । यस नगरपालिकामा समेटिएका साविकका पाँच गाविसहरु क्रमशः पाँचखाल, होक्सेबजार, देवभुमि, वालुवा, अनैकोट र साठीघर भगवती हुन् । साथै मिति २०७३।११।२७ को नेपाल सरकारकोे निर्णय अनुसार थप साबिकका दुई खरेलथोक र कोशीदेखा गाविस गरि सात ओटा साविकका गाविसहरु मिलि संघियता पश्चातको पाँचखाल नगरपालिका बनेको हो । यस नगरपालिकाको कुल क्षेत्रफल १०३ वर्ग किमि रहेको छ भने कुल जनसंख्या ३७७९७ रहेको छ । हाल १३ वटा वडामा विभाजन गरिएको यस नगरपालिका काभ्रेपलाञ्चोक जिल्लाको क्षेत्रफलको आधारमा दोश्रो ठुलो नगरपालिकाको रुपमा रहेको छ ।
यो नगरपालिकाको पूर्वमा भुम्लु गाँउपालिका, पश्चिममा धुलिखेल र बनेपा नगरपालिका, उत्तरमा मण्डनदेउपुर नगरपालिका र भुम्लु गाँउपालिका र दक्षिणमा तेमाल गाँउपालिका, नमोबुद्ध र धुलिखेल नगरपालिका रहेका छन । पाँचखाल नगरपालिकामा कृषिको प्रचुर सम्भावना रहेको छ । पर्यटकीय क्षेत्रको रुपमा रहेको पलाञ्चोक भगवतीको मन्दिर, अनैकोट भ्यु टावर, दुग्धेश्वर मन्दिर, सुनकोशी नदि किनार आदि परिचित रहेको हुदाँ यहाँ स्थानीय पर्यटन उद्योगको समेत उत्तिकै सम्भावना रहेको देखिन्छ ।
चिनारी तथा नामाकरण
पाँचखाल नगरपालिका काभ्रेपलाञ्चोक जिल्ला अन्र्तगतको एक नगरपालिका हो । यो नगरपालिका जिल्लाको मध्य भागमा अवस्थित छ । काठमाडौंबाट ४५ कि.मि. तथा धुलिखेल बाट १५ किलोमिटर टाढाको दुरीमा अवस्थित पाँचखाल काभ्रे जिल्लाको सबैभन्दा ठूलो समथर बेशी भाग ओगटेको क्षेत्र पनि हो । अरनिको राजमार्गले बिचबाट काटेर गएको यो बेशी समुन्द्र सतहबाट ९३७ मिटर अथवा ९२०७३ फिटको उचाइमा अवस्थित छ । यस नगरपालिकामा पाँचखाल उपत्यकाको उर्वर भूमिको साथै तत्कालिन अनैकोट, होक्सेबजार, साठीघर भगवती गाविसहरुका भिरालो जमिनहरु रहेका छन् । यहाँ कृषि उत्पादन र पशुपालनका साथै आन्तरीक पर्यटन उद्योगको समेत प्रचुर सम्भावना रहेको छ ।
धरातलीय अवस्था
पाँचखाल नगरपालिका बेँसीको वरिपरि पलाञ्चोक, अनैकोट, रविओपि, जैशिथोक, पाल्लेखेतका डाँडाहरुले घेरिएको छ । यहाँको तापक्रम सरदर ३२ डिग्री देखि ३३ डिग्री रहने गरेको छ । झिँगु खोलाहरु द्धारा सिंचित यो बेँसी मलिलो भएतापनि पहिला यस ठाँउमा औंलो लाग्ने भएकाले यहाँ बस्ती थिएन । पहिला दनुवार जातिहरुको मात्र बस्ती भएतापनि राजमार्गको विकासले गर्दा अन्य जातिहरुको आकर्षण बढ्दै गएको छ । यस नगरपालिकामा चैत महिना देखि असोजको प्रारम्भ सम्म गर्मी असोज देखि फागुन सम्म जाडो हुने भएकोले यहाँको हावापानी मौसम अनुसार विविध किसिमको रहेको छ । भौगोलिक विषमातायुक्त नगरपालिका भएकोले यहाँको उचाई र अबस्थिति फरक फरक पाइन्छ । ग्रीष्म र वर्षा ऋतुमा मनसुनी बर्षा हुने गर्दछ । मनसुनी वायुको प्रभाबले करिब २००० मिलीलिटर सरदर वर्षा भएको पाइन्छ । यस नगरपालिकामा दक्षिणपूर्वी मनसुन प्रभावित क्षेत्रमा पर्ने हुनाले असारदेखि भाद्रसम्ममा प्रशस्त पानी पर्दछ । जिल्लाका मुख्य दुई जलाधारक्षेत्रहरू वाग्मती र रोशी क्षेत्र हुँदै न्युनचापीय वायु जाने हुनाले यस क्षेत्रमा बढी वर्षा हुनेगर्दछ । यी दुवै जलाधारक्षेत्रहरू महाभारत क्षेत्रको वृष्टिछाँयामा पर्नेगर्दछ ।